काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको आरोप र विवादबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
बिहीबार साँझ सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत चौधरीले पार्टीमा देखिएको आन्तरिक विवाद र नेताहरूबीचको अविश्वासप्रति चित्त दुखाउँदै पार्टी अध्यक्षको भूमिकामाथि प्रश्न उठाएका हुन्।
उनले स्पष्ट पारेका छन् कि साउन ९ र १० गते बोलाइएको केन्द्रीय समिति बैठक महासचिवले आयोजना गरे पनि त्यो आफूले दिएको सुझावका आधारमा भएको हो। “मैले आफैं बैठक बोलाएको नभए पनि, बैठकको प्रस्तावमा मेरो सुझाव र सहमति थियो,” उनले भने।
चौधरीले आफू पार्टीको संस्थापक भए पनि पटक–पटक पार्टीलाई कमजोर बनाउने, विभाजन गर्ने र ‘ठुटो’ बनाउने प्रयास भइरहेको भन्दै दुःख व्यक्त गरे। “आज बिरुवा रोपिन्छ, केही दिनमै काटिन्छ, ठुटो बनाइन्छ,” भन्दै उनले भने, “तर म रोपिरहन्छु, रोप्दै जान्छु।”
संरक्षकका रूपमा राखिए पनि आफूमाथि भूमिका नदिइएको र आरोप मात्र लगाइएको गुनासो गर्दै उनले भने, “मलाई थन्क्याउने काम भयो, तर आरोपचाहिँ एकोहोरो लगाइन्छ। यस्तो व्यवहार स्वीकार्य छैन।”
पार्टीभित्र देखिएको विवादलाई सार्वजनिक गर्ने तर बैठकबाट टाढा बस्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै उनले भने, “समस्या छ भने बैठकमा आइ छलफल गर्नुहोस्, सामाजिक सञ्जालमै छताछुल्ल पारेर होइन। त्यसले तपाईँको नै ओज घटाउँछ।”
चौधरीले नागरिक उन्मुक्ति पार्टी ‘जोइपोइको’ खेलमा फस्ने खतरा बढेको र त्यसमा कसको संलग्नता छ भनेर प्रश्नसमेत उठाए।
अध्यक्ष श्रेष्ठले “मैले बैठक बोलाएको होइन” भन्ने भनाइप्रति आपत्ति जनाउँदै चौधरीले भने, “पन्छिन मिल्दैन, जवाफ दिनुपर्छ। मुद्दा लाग्यो भने जवाफ चाहिन्छ। किन दिनुभएको छैन? पार्टीलाई निरङ्कुश र बन्धक बनाउन पाइँदैन, निकास त अध्यक्षले नै दिनुपर्छ।”
उनको यो सार्वजनिक सन्देशले नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक संघर्ष अझ चर्किंदै गएको संकेत दिएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया