काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकारद्वारा प्रस्तुत गरिएको भूमिसम्बन्धी विधेयक आवश्यक नभएको दाबी गरेकी छन्।
आइतबार बसेको संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै सांसद राईले विधेयकमा उल्लेख गरिएका संशोधनहरु पहिले नै वन ऐनमा रहेको बताइन्। “वनको विषयलाई भूमि ऐनमा ल्याएर हस्तक्षेप गर्न हुँदैन,” भन्दै उनले विधेयकप्रति असहमति जनाइन्।
उनले सरकारको तर्फबाट संसदमा दर्ता गरिएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सन् २०२१ भन्दा पनि पछि फर्किएको टिप्पणी गरिन्। साथै, विधेयकमा सुकुम्बासी र स्वबासीको हक अधिकारको उल्लेख नभएको भन्दै आलोचना गरिन्।
“जंगल मास्ने कार्यमा नलागौं,” भन्दै उनले वातावरणीय प्रभावबारे चेतावनी दिइन्। साथै, विधेयक जसको तसै पारित भए त्यसमा संलग्न सबै कलंकित हुने चेतावनी पनि दिइन्।
समितिको उक्त बैठकमा विधेयकसँग सम्बन्धित संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुसँग छलफल भएको थियो।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया