बुटवल ।  लुम्बिनी प्रदेशमा सन्तोषकुमार पाण्डेले युवा तथा खेलकुदमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष उनले शपथ लिएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शपथ समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीराम चौधरीलगायत प्रदेश सरकारका अन्य मन्त्रीहरूको उपस्थिति थियो।

advertisement

पाण्डे नियुक्तिसँगै लुम्बिनीको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ। यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा एमालेबाट ५, कांग्रेसबाट ५, जसपाबाट १ मन्त्री थिए भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वयं मुख्यमन्त्रीले सम्हालिरहेका थिए।

तर, पाण्डेको नियुक्ति लोसपाभित्र विवादास्पद बनेको छ। संसदीय दलका उपनेता कन्हैया बानियाले मन्त्री नियुक्तिबारे कुनै छलफल वा निर्णय नभएको दाबी गर्दै आफूहरूले सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको प्रतिक्रिया दिएका छन्।

तीन सांसद रहेको लोसपा हालै बजेटमाथिको छलफल बहिष्कार गर्दै विपक्षमा बसेको थियो। पाण्डे भने सत्तारूढ गठबन्धनमा फर्किएर मन्त्री बनेका छन्। यसअघि पनि उनी दुईपटक प्रदेश मन्त्री भइसकेका छन्। दलभित्र उनलाई ‘सत्तालोलुप’ नेता भनेर आलोचना गरिँदै आएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com