काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वका सामाजिक संघ–संस्थाहरूमा जनताले स्पष्ट फरकपन महसुस गर्ने गरी मौलिक सोच झल्किनु आवश्यक रहेको बताएका छन् ।
आज काठमाडौंमा माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादीले नेतृत्व लिएका संघ–संस्थाहरू उदाहरणीय र जनमुखी बन्नुपर्नेमा जोड दिए ।
उनले बदलिँदो राजनीतिक परिस्थितिमा सामाजिक संघ–संस्थामा माओवादी कार्यकर्ताको सहभागिता अझ सक्रिय र सकारात्मक हुनुपर्ने बताए । “हाम्रा नेता–कार्यकर्ता जहाँ संलग्न छन्, ती संस्था उत्कृष्ट बन्नुपर्छ,” उनले भने, “सामाजिक संघ–संस्थामा हाम्रो भूमिका के हुन्छ भन्ने कुराले नै नेपाली समाजवादको स्वरूप निर्धारण गर्छ ।”
दाहालले माओवादी कार्यकर्ताहरू संघ–संस्थामा भए पनि आफू माओवादी हुँ भन्न हिच्किचाउने प्रवृत्ति हटाउनुपर्ने बताए । “अब लुकेर होइन, खुला रूपमा माओवादीको विचार बोकेर जनताबीच फरक पहिचान दिनुपर्ने समय आएको छ,” उनले स्पष्ट पारे ।
उनका अनुसार, माओवादीले नेतृत्व लिएका संघ–संस्थाहरूमा पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहास व्यवहारमै देखिनुपर्छ । देशभरका स्थानीय तहहरूमा पनि माओवादी नेतृत्वको प्रभाव स्पष्ट देखिएको भन्दै उनले सकारात्मक काममार्फत जनस्तरमा विश्वास जित्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष दाहालले सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै परम्परागत पार्टीहरूको संलग्नताले संस्थागत रूपमा समस्याहरू पैदा भएको बताए । “संसदवादी दलाल पुँजीवादीहरूका कारण सहकारी र सामाजिक संघ–संस्थाहरूमा गम्भीर विकृति देखिएको छ,” उनले भने, “हामीले नेतृत्व लिएका संस्थाहरू भने माओवादी विचारअनुसार चल्नुपर्छ । जनताले फरकपन अनुभूति गर्नुपर्छ ।”
उनले सरकारमा रहँदा विदेशी दातृ निकायहरूको सहयोग सामाजिक संघ–संस्थामार्फत खर्च हुँदा उत्पन्न भएको समस्या समाधान गर्न प्रयास गरेको स्मरण गराउँदै त्यस्ता खर्चलाई राज्यको लेखाभित्र ल्याउने पहल भएको बताए ।
अन्त्यमा, माओवादी केन्द्रले अघि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरू दलको सोचभन्दा फरक रहेको भन्दै त्यसलाई तल्लो तहसम्म बुझाइ जनस्तरमा पार्टीको अलग पहिचान स्थापित गर्नुपर्नेमा दाहालले जोड दिए ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया