काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी पार्टीभित्र भइरहेका बहस र विवादमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साथै, पार्टीको झण्डामा रहेको हँसिया-हथौडाको सेतो रङलाई सुनौलोमा परिवर्तन गर्ने प्रस्ताव समेत अघि सारेको छ।
गत साता सम्पन्न केन्द्रीय कमिटीको नवौं बैठकका निर्णयहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको आधिकारिक निर्देशिका “अपानि १२” मार्फत प्रदेश, जिल्ला, वडा तहका संरचनाहरूमा पठाइएको हो।
पार्टीमा पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति प्रवेश गर्ने/नगर्ने विषयमा गहिरो मतभेद देखिएपछि अबदेखि उनको नाम जोडेर कुनै पनि बहस, टिप्पणी वा आलोचना नगर्न निर्देशन दिइएको छ।
“सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउने गरी सुरु भएको बहसलाई केन्द्रीय कमिटीले निर्णय गरेर टुंगो लगाइसकेको छ,” अपानिमा भनिएको छ, “अबबाट यस्तो बहस गर्न पाइने छैन।”
एमालेले पूर्वराष्ट्रपतिले संविधानअनुसार राजनीति फर्किन नमिल्ने प्रष्ट पारेको छ। “संविधानले अवकाश प्राप्त राष्ट्राध्यक्षको पुनः दलगत राजनीतिमा संलग्न हुने प्रावधान दिएको छैन,” अपानिमा उल्लेख छ।
पार्टीले भण्डारीलाई गणतन्त्रको गौरव को रूपमा स्मरण गर्दै, “सक्रिय राजनीतिमा फर्कनु हुँदैन” भन्ने निष्कर्ष निकालेको हो।
विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया अघि नबढाइने पनि स्पष्ट गरिएको छ। “पूर्वराष्ट्रपति एमालेको कार्यकर्ता बन्न मिल्दैन,” अध्यक्ष ओलीले हस्ताक्षर गरेको अपानिमा भनिएको छ, “उहाँ राष्ट्रको गौरव हुनुहुन्छ, कार्यकर्ता होइन।”
एमालेले आफ्नो झण्डामा रहेको हँसिया–हथौडाको सेतो रङलाई सुनौलोमा रूपान्तरण गर्ने प्रस्ताव समेत अघि सारेको छ।
हाल रातो पृष्ठभूमिमा सेतो रंगमा हँसिया–हथौडा अंकित छ। यो प्रस्ताव विधान संशोधन मस्यौदामा समावेश गरिएको छ।
विधान संशोधनका अन्य प्रस्ताव
-
पार्टी नेतृत्वमा २ कार्यकालको सीमा हटाउने
-
७० वर्षे उमेर हद हटाउने
-
केन्द्रीय कमिटीको सदस्य संख्या घटाएर २५१ बनाउने
-
१५ सदस्यीय पदाधिकारी संरचना बनाउने
-
पार्टी सदस्यता दुई किसिमको बनाउने व्यवस्था
एमालेले यस्ता निर्णयमार्फत संगठनात्मक सुधारसहित दलभित्रको अनुशासन मजबुत बनाउने प्रयास गरिरहेको संकेत देखिएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया