काठमाडौं । समाजवादी मोर्चाले मुलुकमा बढ्दो भ्रष्टाचार र बेतिथिविरुद्ध संगठित र औचित्यपूर्ण ढंगमा संघर्ष अगाडि बढाउने निर्णय गरेको छ।
मंगलबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हालसम्मका गतिविधिको समिक्षा गर्दै आगामी रणनीति तय गरेको हो। बैठकपछि माओवादी केन्द्रका अध्यक्ष एवं मोर्चाका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चा अझ सक्रिय, संगठित र सुसंगत रूपमा अघि बढ्ने बताएका छन्।
“पार्टीभित्र कुनै समस्या छैन, मोर्चाको उद्देश्य स्पष्ट छ,” प्रचण्डले बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब हामी जनअपेक्षा अनुसारको गतिमा अघि बढ्छौं।”
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले बैठकमा हालसम्मको कामको गम्भीर समीक्षा गरिएको जानकारी दिए। “भ्रष्टाचार, बेतिथि र राष्ट्रिय क्षयका विरुद्ध मोर्चाले अब निर्णायक र प्रभावशाली ढंगले उपस्थिति जनाउनेछ,” उनले भने, “यसका लागि चाँडै देशव्यापी ठूला आन्दोलन र प्रदर्शनहरू गरिनेछ।”
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाले अघिल्लो चरणमा अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै अब प्रभावकारी कार्यदिशा अपनाउने बताएका छन्। “विविध कारणले गति कमजोर भए पनि, अब ती कमजोरीहरू सच्याएर संगठनलाई पुनः क्रियाशील बनाउने निष्कर्ष बैठकले निकालेको छ,” उनले भने।
विश्वकर्माका अनुसार भाद्र महिनाको अन्त्यतिरदेखि देशव्यापी रूपमा समाजवादी मोर्चाका कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन गरिनेछ। “अब हामी निर्णायक संघर्षको चरणमा प्रवेश गर्दैछौं,” उनले जोड दिए।
बैठकमा सहभागी नेताहरूले मोर्चालाई जनताको अपेक्षा अनुसार धारिलो बनाउन, देशको राजनीतिक र नैतिक रूपान्तरणमा प्रभावकारी शक्ति बनाउने प्रतिबद्धता जनाएका थिए।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया