काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीबारे फैलिरहेका भ्रमहरूप्रति सचेत रहन र वस्तुगत रूपमा बुझ्न आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै शर्माले पार्टीको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे चार प्रमुख बुँदामा आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
शर्माले विशेष महाधिवेशनमार्फत पार्टीभित्र रहेको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, संगठनात्मक कमजोरी र विधिको अभावलाई अन्त्य गर्दै नयाँ पुस्ताका आकांक्षा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले विगत दुई वर्षदेखि निरन्तर रूपमा पार्टी विभाजन हुने हल्ला फैलाउँदै भ्रम सिर्जना गर्ने तत्वहरू सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता प्रचारप्रति सतर्क रहन सबै कार्यकर्ता र समर्थकहरूलाई आह्वान गरेका छन्।
उनका अनुसार, गत वर्ष सम्पूर्ण प्रदेशस्तरीय परामर्श भेला र त्यसपछिको केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन गर्ने निर्णय भइसकेको छ। असारदेखि सुरु भई मंसिरसम्म सम्पन्न हुने विशेष महाधिवेशनले पार्टीको पुनर्गठन र सुदृढीकरणमा टेवा पुर्याउने विश्वास उनले व्यक्त गरेका छन्।
शर्माले हुलाकी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानबाट उत्पन्न राजनीतिक ऊर्जा र जनसम्पर्कलाई अब एजेन्डा आधारित बहसमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। दुई बुँदे सहमतिपछि पार्टीको कमजोर बनेको साखलाई आत्मसमीक्षा र पुनर्संयोजनमार्फत पुनः उचाइमा पु¥याउनुपर्ने उनको धारणा छ।
उनले लेखेका छन्, “देश, जनता र सम्पूर्ण राजनीतिक दल गम्भीर संकटबाट गुज्रिरहेका छन्। यसको समाधान संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठनबाट मात्र सम्भव छ।”
शर्माका अनुसार, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई व्यवहारमा उतार्न नीतिगत संरचनाहरू परिवर्तन गर्नुपर्नेछ। यसले उत्पादन, वितरण, रोजगारी र समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्दै आत्मनिर्भर र सामाजिक न्याययुक्त समाज निर्माणमा सहयोग पुर्याउने छ।
उनले हालको कुशासन, कानुन निर्माणमा चलखेल, भ्रष्टाचारको चरम वृद्धि र जनचासोका विषयमा सरकारको बेवास्ताले सिर्जित निराशा चिर्न अब ठोस समाधान र स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे।
संविधान संशोधन, शासकीय संरचना, निर्वाचन प्रणाली, पहिचान र आर्थिक पुनर्संरचनाजस्ता महत्वपूर्ण एजेन्डामा राष्ट्रव्यापी संवाद र सहमति आवश्यक रहेको उनको निष्कर्ष छ। शर्माले यिनै विषयलाई लिएर माओवादी केन्द्रभित्र गम्भीर बहस सुरु गर्न र पार्टीको नवीन पुनर्संरचना तर्फ एकजुट हुन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया