काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको जिम्मेवारी लिनु अघि नै सक्रिय राजनीतिबाट अलग रहन सुझाव दिएको खुलासा गरेका छन्।

श्रमिक संगठन जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले आफूले भण्डारीको निवासमै पुगेर व्यक्तिगत रूपमा राजनीति नछाडेको अवस्थामा राष्ट्रपति बन्नु उचित नहुने सल्लाह दिएको स्मरण गरे। तर पार्टीको निर्णयपछि सर्वसम्मत रूपमा राष्ट्रपतिको उम्मेदवार बनाइएको उनले बताए।

advertisement

“उहाँको निवासमै पुगेर इच्छा नभएको अवस्थामा नबन्नुस् भनेको थिएँ,” पोखरेलले भने, “तर पार्टीको निर्णय भएपछि हामी सबैले उहाँलाई सर्वसम्मत राष्ट्रपतिको उम्मेदवार बनायौँ। दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेपछि राजनीतिमा फर्कनुहुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ, तर त्यो धैर्यता उहाँमा देखिएन।”

महासचिव पोखरेलले राष्ट्रको दुई कार्यकालसम्म प्रमुख भइसकेको व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्किन खोज्नु अपेक्षाविपरीत भएको टिप्पणी गरे। उनले पार्टी नेतृत्वमा दुई कार्यकालको सीमा सम्बन्धी बहसलाई अनावश्यक र भ्रमपूर्ण भन्दै यसले पार्टीको प्रतिष्ठामाथि प्रश्न उठाउने बताए।

७० वर्ष उमेर सीमा सम्बन्धी विवादबारे बोल्दै पोखरेलले यो लोकतान्त्रिक मूल्यविपरीत नरहेको स्पष्ट पारे। उनले जनताको अनुमोदनबाट आउने नेतृत्व चाहिने भन्दै स्व. मदन भण्डारीको विचारलाई स्मरण गरे।

महासचिव पोखरेलले एमाले महाधिवेशनमा उम्मेदवारी दिन सबैको अधिकार रहेको र पार्टी प्रतिस्पर्धात्मक नीति अवलम्बन गरिरहेको पनि स्पष्ट गरे। “हामी पहलकदमी र प्रतिस्पर्धालाई प्रोत्साहित गर्छौं, नेतृत्व चयनको अधिकार प्रतिनिधिहरूको हो,” उनले भने।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com