काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले मागेको स्पष्टीकरण तोकिएको समयभित्र नदिएपछि पार्टीभित्रको विवाद झनै चर्किएको छ।
आइतबार बसेको नाउपाको केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन अल्टिमेटम दिएको थियो। तर, स्वास्थ्य समस्याको कारण देखाउँदै उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बाँस्तोलालाई तोकेको निर्णय पार्टीभित्रै विवादको विषय बनेको छ।
अनुशासन समितिका अनुसार, मंगलबारसम्मको समयसीमा तोकिए पनि अध्यक्ष श्रेष्ठले कुनै प्रतिक्रिया नदिएको पुष्टि भएको छ। स्पष्टीकरण नआएपछि पार्टीले अनुशासन प्रक्रियालाई अघि बढाएको छ।
श्रेष्ठसँग सम्बन्धित विवादबारे टुंगो लगाउन पार्टीले आज (बुधबार) राष्ट्रिय भेला आह्वान गरेको छ। भेलाले अनुशासन समितिले गरेका निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ। यसले अध्यक्ष श्रेष्ठविरुद्ध औपचारिक कारबाही प्रक्रिया अघि बढ्ने संकेत दिएको छ।
श्रेष्ठको भूमिकालाई लिएर लामो समयदेखि पार्टीभित्र असन्तोष बढ्दै आएको थियो। अब राष्ट्रिय भेलाको निर्णयले नाउपाको आगामी नेतृत्व संरचना कता जाने भन्ने स्पष्ट हुने देखिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया