विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयन हुन नसक्दा सरकार निष्क्रिय बनेको आरोप लगाएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै डा. कोइरालाले वर्तमान सरकारले जनताका अपेक्षा अनुसार काम गर्न नसकेको बताए। उनले सरकारले संविधान संशोधनसम्बन्धी चर्चासमेत अघि बढाउन नसकेको उल्लेख गर्दै, सहमति अनुसार निर्माण गर्नुपर्ने समिति एक महिना बित्दा पनि गठन नभएकोमा असन्तुष्टि जनाए।
कोइरालाले लिची बगान घुस प्रकरणलाई स्मरण गर्दै राजनीतिमा नैतिकताको खाँचो रहेको बताए। “नैतिकता बिना राजनीति थालिएमा त्यो प्रणाली धरापमा पर्छ,” उनले भने।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति गम्भीर आपत्ति जनाउँदै उनले सो व्यवस्था खतरनाक भएको बताए। “जहाँ प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी नेता र उपसभामुख रहने व्यवस्था छ, त्यहाँ दुई–तीन जनाले मात्रै निर्णय गर्न सक्ने प्रावधान लोकतान्त्रिक मान्यताविपरीत हो,” उनले स्पष्ट पारे।
पूर्वराष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरूसँगको भेटघाटबारे टिप्पणी गर्दै उनले त्यसलाई सामान्य राजनीतिक सम्पर्क भने। “हामी राजनीति गरिरहेका छौं, भेटघाट भइरहन्छ। त्यसलाई विशेष अर्थ दिनु आवश्यक छैन,” उनले भने।
पार्टी संसदीय दलको नेतृत्व फेर्ने विषयमा संख्यात्मक बहुमत नपुगेको अवस्थामा हतार नगर्न सुझाव दिँदै कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन संविधानतः २०८२ सालभित्रै गर्नुपर्नेमा आफू स्पष्ट अडानमा रहेको दोहोर्याए।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया