काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूकै बीचमा पनि जातीय छुवाछुतको व्यवहार देखिने आरोप लगाएका छन्।
बुधवार बसेको राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद आलेमगरले नेपालमा कानुनले जातीय विभेदलाई निषेध गरे पनि व्यवहारमा भने यो समस्या अझै गहिरो रहेको टिप्पणी गरे।
उनले भने, “धेरै मानिसहरूले जातीय छुवाछुत गर्छन्, तर ती कसैलाई पनि कानुनी दायरामा ल्याइएको छैन। संरचनागत कमजोरीका कारण यस्तो सामाजिक अपराध गरिए पनि दण्डित नहुने अवस्था रहेको छ।”
आलेमगरले छुवाछुत जघन्य सामाजिक अपराध भएको उल्लेख गर्दै यो समस्या करोडपति र सांसदहरूबीच समेत देखिएको दाबी गरे। “यहाँ सांसदहरू दलित हुन् भन्ने थाहा पाएपछि समेत भेदभाव गरिन्छ। यस्तो संवेदनशील विषयमा गम्भीर नहुनु चिन्ताजनक हो,” उनले भने।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पनि जातीय छुवाछुत समाजमा अझै जीवित रहेको स्वीकार गर्दै समाज परिवर्तनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।
“हामी छुवाछुतमुक्त समाज बनाउने अभियानमा छौँ। तर, समाजमा अझै पनि छुवाछुतको सोच राख्नेहरू छन्,” मन्त्री पन्तले भने। “सामाजिक अपराधहरूमा कानुनले छुट्टाछुट्टै स्तर तोकेको छ। जघन्य अपराधहरू नैतिक पतनसमेत झल्काउने खालका हुन्छन्।”
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलसमेत गरिएको थियो।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया