काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको र २०८३ सालको मंसिरभित्र नेपाल औपचारिक रूपमा विकासशील राष्ट्रको श्रेणीमा पुग्ने दाबी गरेका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त प्रक्रिया सन् २०१० बाट योजनाबद्ध रूपमा सुरु भएको जानकारी दिए।
“विगत डेढ दशकदेखि विभिन्न मूल्यांकन चरण पार गर्दै अहिलेको अवस्थामा आइपुगेका हौँ,” प्रधानमन्त्री ओलीले भने, “हामीले प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, तथा आर्थिक जोखिमसँग सम्बन्धित मापदण्डहरू पूरा गरिसकेका छौं।”
उनका अनुसार नेपालको प्रतिव्यक्ति आय हाल १,४०० अमेरिकी डलरको हाराहारीमा पुगेको छ, जुन स्तरोन्नतिको महत्वपूर्ण आधार हो। यसै आधारमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई विकासशील राष्ट्रको सूचीमा राखेको उल्लेख गर्दै उनले भने, “हामीले यो मापदण्ड आफैं पूरा गरेका छौं, त्यसैले यो निर्णय नेपालको उपलब्धिमा आधारित हो।”
प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रले देखाएको मजबुत प्रतिरोध क्षमतालाई अन्तर्राष्ट्रिय जगतले सकारात्मक रूपमा मूल्यांकन गरेको बताए।
“जब विश्वका ठूला अर्थतन्त्रहरू ऋणात्मक अवस्थामा थिए, नेपालले तुलनात्मक रूपमा स्थायित्व देखाउन सक्यो,” उनले भने, “७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि, शिक्षा, स्वास्थ्य, जीवन प्रत्याशा जस्ता सूचकमा सुधार भएका कारण हामीले यो उपलब्धि हासिल गरेका हौं।”
ओलीले नेपालको यो स्तरोन्नतिले अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने मात्र नभई वैदेशिक लगानी, सहुलियतपूर्ण ऋण, प्रविधि हस्तान्तरणलगायत विकासका नयाँ अवसरहरू खोलेर ल्याउने विश्वास व्यक्त गरे।
“अब ढुक्क हुनुस्, विक्रम संवत् २०८३ मंसिरभित्र नेपाल विकासशील राष्ट्रका रूपमा विश्वमञ्चमा उभिनेछ,” उनले संसदलाई आश्वस्त पार्दै भने।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया