काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा विकास र समृद्धि हासिल गर्न सामाजिक अराजकता र राजनीतिक अस्थिरताको अन्त्य अत्यावश्यक रहेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालले साउन १५ का अवसरमा बिहीबार आयोजना गरेको खिर खाने कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले बलियो राज्य निर्माणविनाको समृद्धि सम्भव नभएको बताए।
‘जबसम्म सामाजिक अराजकता र राजनीतिक अस्थिरता अन्त्य गर्न सकिँदैन, तबसम्म विकास र समृद्धिको सपना पूरा गर्न सकिँदैन,’ पोखरेलले भने, ‘त्यसका लागि राज्यलाई सुदृढ बनाउनुपर्छ।’
राज्य सुदृढ बनाउन राजनीतिक दलहरूलाई संस्थागत रूपमा बलियो बनाउनु पर्नेमा जोड दिँदै उनले दलहरूबीच नीतिगत ध्रुवीकरण आवश्यक रहेको धारणा राखे।
महासचिव पोखरेलले नयाँ पुस्ताले जनमत विभाजनको परम्परालाई तोड्दै राष्ट्रिय एकताको बाटो रोज्नुपर्ने बताए। उनले नेकपा एमाले युवाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने पार्टी भएकाले युवाहरूको आकर्षण एमालेतर्फ बढिरहेको दाबी गरे।
‘अब नेकपा एमालेको नेतृत्वमा एकल बहुमतको स्थिर सरकार निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नुपर्ने बेला आएको छ,’ पोखरेलले बताए।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया