काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ को अवसरमा नेपाली जनतालाई शुभकामना दिँदै यो पर्व पशुपालन संस्कृतिसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक परम्परा भएको बताएका छन्।
साउन १५ गते मनाइने परम्परागत खीर खाने पर्वले नेपाली समाजमा संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “जसरी खीर स्वादिलो परिकारको रूपमा लिइन्छ, त्यसैगरी यो पर्वले हाम्रो सामाजिक समरसता र साझा परम्पराको मिठास प्रस्तुत गर्छ।”
उनले शुभकामना सन्देशमा भनेका छन्, “शुभ साउन १५! सबैको जीवन खीरजस्तै मिठासपूर्ण, शान्तिपूर्ण र समृद्धिपूर्ण बनोस्।”
खीर खाने परम्परा नेपालको प्राचीन कृषि र पशुपालन संस्कृति एवं धार्मिक आस्थासँग जोडिएको मानिन्छ। असार १५ मा दही–च्यूरा र साउन १५ मा खीर खाने चलन वैदिक परम्पराबाट विकसित भएको जानकारहरू बताउँछन्।
साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ, जसमा दूध र दूधजन्य परिकार अर्पण गरिने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। यस्तै, ऋषिमुनिको पालादेखि श्राद्धमा निमन्त्रणा गरिएकालाई खीर (पायस) खुवाउने परम्परा अझै जीवित छ। वैदिक सनातन धर्म अनुसार गाईको दूधबाट बनाइएको खीर श्राद्धकर्ममा अनिवार्य परिकार मानिन्छ।
नेपाली बृहत् शब्दकोश अनुसार ‘खीर’ भन्नाले दूधमा चामल, चिनी, मसला आदि मिसाएर पकाइएको स्वादिलो परिकार, अर्थात् पायसलाई जनाइन्छ।
नेपाली समाजमा प्रत्येक महिनाको मध्य (१५ गते) मा विशेष परिकार बनाएर आफन्त, इष्टमित्र र छोरीचेलीलाई निम्त्याउने परम्परा रहेको छ। असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा खाने परम्परा त्यसकै उदाहरण हुन्।
राष्ट्रिय दुग्ध विकास बोर्डले पनि साउन १५ लाई “खीर दिवस” को रूपमा मनाउँदै आएको छ, जसले नेपाली दुग्ध उत्पादन तथा दूधजन्य परिकारको महत्वलाई थप उजागर गर्छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया