काठमाडौं । देशभरको विभिन्न प्रमुख राजमार्गहरूमा वर्षा, पहिरो र बाढीका कारण सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ। नेपाल प्रहरीले सोमबार बिहान १०:२० बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै १३ स्थानमा राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ।
काठमाडौं उपत्यकाको कागजि टोल (न.पा.–२) मा काठमाडौं–नुवाकोट सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। कोशी प्रदेशको भोजपुर (भोटे खोला, न.पा.–४) मा कोशी राजमार्ग पूर्ण रूपमा बन्द छ।
बागमती प्रदेशको रसुवाको नेपाल–चीन नाका जोड्ने तातोपानी सडक र सिन्धुपाल्चोकको अरनिको राजमार्गमा पूर्ण अवरोध रहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशका बागलुङ र तानहुँमा कालिगण्डकी करिडोर र पृथ्वीराजमार्गको केही भाग पूर्ण रूपमा बन्द छन्। नवलपरासीपूर्व र मुस्ताङका दुई स्थानमा भने सडक एकतर्फी मात्र सञ्चालनमा छन्।
लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग आंशिक रूपमा सञ्चालनमा रहे पनि घोरेटो–हत्तीसाउँ सडकखण्डमा पूर्ण अवरोध छ। कर्णाली प्रदेशको रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडक खण्डसमेत पूर्ण रूपमा बन्द गरिएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया