काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले संयुक्त राष्ट्रसंघको आयोजनामा इथोपियाको राजधानी अदिस अबाबामा सम्पन्न भएको खाद्य प्रणाली रुपान्तरण स्टक टेक समिट (UNFSS+4) मा नेपालको तर्फबाट सम्बोधन गरेका छन्।

साउन ११ देखि १३ गतेसम्म आयोजना गरिएको सम्मेलनको उद्घाटन सत्र र मन्त्रीस्तरीय राउन्डटेबलमा सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको संविधानले खाद्य अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको जानकारी दिए। साथै, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन तथा नियमावलीमार्फत त्यसको कार्यान्वयन भइरहेको बताए।

advertisement

उनले जलवायु परिवर्तन, पारिस्थितिक असन्तुलन, जैविक विविधताको ह्रास, भौगोलिक जोखिम, कमजोर अर्थतन्त्र र खाद्य आयातमा बढ्दो निर्भरता जस्ता चुनौतीबीच नेपालले स्थानीय खाद्य प्रणाली सुदृढीकरणमा जोड दिएको स्पष्ट पारे।

मन्त्री अधिकारीका अनुसार सरकारले पोषणयुक्त स्थानीय तथा रैथाने बालीहरूको उत्पादन र मूल्य श्रृंखला विकासलाई प्राथमिकता दिएको छ। विद्यालयस्तरीय दिवा खाजामा स्थानीय उत्पादनको प्रयोग गरिएको र यसले विद्यार्थीको पोषण, सिकाइमा सुधार र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताए।

त्यस्तै, उनले नेपालले प्राङ्गारिक, पर्यावरणीय, जलवायु मैत्री कृषि, जैविक विविधता संरक्षण र कृषि बन प्रणाली जस्ता दिगो कृषिको अभ्यासलाई प्रवर्द्धन गरिरहेको जानकारी दिए।

मन्त्री अधिकारीले निम्न आय भएको मुलुकका रूपमा नेपालको वित्तीय तथा संस्थागत क्षमता कमजोर रहेको भन्दै खाद्य सुरक्षा, पोषण सुधार र खाद्य प्रणाली रूपान्तरणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आह्वान पनि गरे।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com