काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले नयाँ नेतृत्व चयन गर्दै लालवीर चौधरीलाई पार्टी अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। बिहीबार काठमाडौंमा सम्पन्न भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै लालवीरलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको हो।

लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका पिता तथा प्रतिनिधिसभा सदस्यसमेत हुन्।

advertisement

अध्यक्ष पद सम्हालेपछि चौधरीले पार्टीलाई विधि, प्रक्रिया र आन्तरिक सल्लाह–सुझावको आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीमा उत्पन्न जटिलताबाट निकास दिन आफू गम्भीर रहेको उल्लेख गर्दै, पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीभित्र आएर आफ्ना विचार खुला रूपमा राख्न आग्रह गरे।

उनको भनाइमा, “डेढ वर्ष भयो पार्टीको औपचारिक बैठक बसेको छैन। पार्टीको गतिविधि ठप्प भएको अवस्थामा हामीले संविधान र विधानअनुसार भेला बोलाएका हौं। उपनिर्वाचनको तयारीसमेत भइरहेको छ। यस्तो अवस्थामा निर्णय लिनुपर्ने भएकाले निकास दिने उद्देश्यले यो कदम चालिएको हो।”

चौधरीले थपे, “अब अध्यक्षको जिम्मेवारी सम्हालेपछि म कमिटीको सुझाव, विधि र पद्धति अनुरूप पार्टी सञ्चालनमा लाग्नेछु। रञ्जिताजीलाई अझै पनि आग्रह छ—पार्टीमा फर्किनुहोस्, बैठकमा सहभागी होऔं र नेता–कार्यकर्तामाझ आफूले गर्न चाहेको कुरा स्पष्ट राख्नुहोस्।”

पार्टीको आन्तरिक विवादका बीच नयाँ नेतृत्व चयन गरिएको यो निर्णयलाई केहीले विवादास्पद ठानिरहेका छन् भने कतिपयले यसलाई पार्टीमा स्थायित्व र दिशानिर्देशनको नयाँ प्रयासका रूपमा लिएका छन्।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com