काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष लालवीर चौधरीले पार्टीमा उत्पन्न गतिरोध हटाउनका लागि नेतृत्वमा परिवर्तन गर्नुपरेको स्पष्ट पारेका छन्। बिहीबार अध्यक्षमा चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै उनले पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले करिब डेढ वर्षसम्म पार्टी बैठक नै नबोलाएको आरोप लगाए।
“उहाँले डेढ वर्षदेखि बैठक बोलाउनु भएन,” अध्यक्ष चौधरीले भने, “हामीकहाँ रुपन्देहीमा उपनिर्वाचन हुँदैछ, उम्मेदवारी दिनुपर्ने भएकाले विधान र निर्वाचन आयोगको नीति अनुसार अघि बढ्नुपर्ने बाध्यता थियो। त्यसैले समाधान खोज्दै यो प्रक्रिया थालिएको हो।”
उनले पार्टीले रञ्जिता श्रेष्ठप्रति कुनै पूर्वाग्रह नराखेको उल्लेख गर्दै अझै पनि पार्टीमा फर्केर छलफलमा सहभागी हुन आग्रह गरे। “उहाँले जे–जस्ता अभिव्यक्ति दिनुभएको छ, त्यसलाई पार्टीले नराम्रो मानेको छैन। हामीले उहाँलाई बैठकमा आएर नेताकर्मीसँग संवाद गर्न आग्रह गरेका थियौं। उहाँविरुद्ध लगाइएका आरोपहरूप्रति पार्टीले छलफल गर्न तयार छ,” उनले थपे।
अध्यक्ष चौधरीले आफ्नो नेतृत्वमा पार्टीलाई विधि, पद्धति र संस्थागत संरचनाको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए। “निकास खोजिएको हो, बहिष्कार होइन,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया