विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको दम्भ, अहंकार र गलत नीतिका कारण देश पीडामा रहेको टिप्पणी गरेका छन्।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई ‘असफल सरकार’ भन्दै आलोचना गरे। “केपी ओलीको दम्भ र गलत निर्णयका कारण देशले गहिरो पीडा भोगिरहेको छ,” उनले भने, “ओलीलाई सत्ता राजनीतिबाट बिदा नगरिएसम्म देश समस्याबाट मुक्त हुने अवस्था आउँदैन।”
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीचको सहकार्य कायम रहँदासम्म सरकार परिवर्तनको सम्भावना नदेखिएको बताए। एमालेभित्रको अवस्था ‘तमाशा’ समान भएको उल्लेख गर्दै उनले ओलीमाथि कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्याएको आरोप समेत लगाए।
अध्यक्ष नेपालले आफूमाथि दायर गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधका आधारमा आएको दाबी गरे। उनले सो मुद्दाको कुनै कानुनी वैधता नभएको जिकिर गर्दै भने, “मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको कामलाई भ्रष्टाचारको मुद्दा बनाउनु पूर्वाग्रह हो। मैले जिन्दगीमा एक पैसा पनि अनियमितता गरेको छैन।”
उनले सरकारलाई कुनै वित्तीय नोक्सान नपुगेको र सम्पूर्ण प्रक्रिया विधिसम्मत भएको दाबी गरे।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया