विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन्।
शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले खनालले एमाले टुक्र्याउनु गल्ती भएको भन्ने अभिव्यक्तिले पार्टी नीति विपरीत धारणा प्रस्तुत गरेको बताए।
नेपालले भने, “उहाँले एमाले टुक्रयाउनु गल्ती भएको भन्नुभएछ। त्यो पार्टी नीतिविपरीत हो। म उहाँलाई नैतिकताको आधारमा पार्टीबाट बिदा हुन सुझाव दिन्छु।”
खनालले पार्टीको संस्थागत निर्णयलाई पटक–पटक अस्वीकार गर्दै आएको भन्दै नेपालले उनको अभिव्यक्तिको पार्टीमा खासै अर्थ नरहेको टिप्पणी गरे।
त्यसैगरी, पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई पुनः राजनीतिमा सक्रिय हुन संविधानले रोक नलगाएको भन्दै नेपालले त्यो उनीहरूको व्यक्तिगत निर्णयमा भर पर्ने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओली एउटै लाइनमा रहेसम्म वैकल्पिक सरकार गठनको सम्भावना नरहेको धारणा पनि अध्यक्ष नेपालले व्यक्त गरे।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया