काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेशलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिएको छ। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।

सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा, साउन २७ गतेसम्म १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप प्राप्त गरेको पुष्टि भएको हो।

advertisement

प्रदेशका १३ जिल्ला र ११९ पालिकामा पूर्ण खोप सुनिश्चित भएपछि प्रदेशस्तरीय रूपमा यसको घोषणा गरिएको हो। सो अवसरमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्री किरण थापालाई खोपको प्रमाणपत्र हस्तान्तरण गरे। साथै, उनले स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्यक्रमको पनि औपचारिक शुभारम्भ गरे।

प्रधानमन्त्री ओलीले बागमती प्रदेशलाई बधाई दिँदै भने, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि हामी निरोगी नेपाल बनाउनतिर लागिरहेका छौँ।”

उनले रोग लाग्न सक्ने सम्भावना भए पनि त्यसको कारण र बाटाहरू रोक्न सकिनेमा जोड दिए। “त्यसका लागि खोप एक महत्वपूर्ण उपाय हो,” प्रधानमन्त्रीले भने, “हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा मान्यता दिएको छ। खोप अभियानले यस हकको कार्यान्वयनमा सार्थक योगदान दिएको छ।”

प्रधानमन्त्री ओलीले खोप अभियानमा योगदान पुर्‍याउने उत्कृष्ट कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानित पनि गरे।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले निरन्तर प्रयास र समर्पित सेवाका कारण पूर्ण खोप अभियान सफल भएको बताए।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com