काठमाडौं । काठमाडौं जिल्ला अदालतको पुर्पक्ष आदेशविरुद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उच्च अदालत पाटनमा दर्ता गराएको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
शुक्रबार न्यायाधीश टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भए पनि अन्तिम निष्कर्षमा नपुगेपछि मुद्दा आइतबारका लागि स्थगित गरिएको हो।
प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी उर्फ सरोज गौतमले काठमाडौं जिल्ला अदालतले गरेको पुर्पक्ष थुनाको आदेश बदर गर्नुपर्ने माग गर्दै निवेदन दिएका थिए।
चैत १५ गते तीनकुनेमा भएको झडपपछिको घटनासँग सम्बन्धित यो मुद्दामा नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनले पनि प्रतिउत्तर निवेदन दर्ता गरेको छ। दुबै पक्षको निवेदन एउटै इजलासमा एकैपटक सुनुवाइ भइरहेको हो।
यसअघि, काठमाडौं जिल्ला अदालतले जेठ २९ गते दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
सरकारी वकिलको कार्यालयले प्रसाईंमाथि राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराधमा संलग्न रहेको आरोप लगाउँदै कडा सजायको माग गरेको छ।
चैत १५ गतेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको रिपोर्टिङकै क्रममा आगलागीमा ज्यान गएको थियो। त्यस्तै, प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया