ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
दुवै नेताबीच समसामयिक राजनीतिक परिदृश्य, नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र सहिदहरूको सपनालाई साकार पार्ने दिशाबारे गहिरो र अर्थपूर्ण छलफल भएको किरातीले जानकारी दिए।
किरातीका अनुसार भेटवार्ता सौहार्दपूर्ण, भावनात्मक र सकारात्मक वातावरणमा सम्पन्न भयो। सो अवसरमा किरातीले विप्लवलाई नेपाली कम्युनिस्ट आन्दोलनका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो ‘आँखीझ्याल’ फ्रेममा राखी उपहारस्वरूप प्रदान गरेका थिए।
“यो फ्रेम केवल उपहार मात्र होइन, एक गहिरो प्रतीक हो,” किरातीले भने, “कमरेड विप्लव आँखीझ्यालबाट नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनलाई कसरी हेरिरहनुभएको छ भन्ने सन्दर्भमा यो प्रतीकात्मक सन्देश हो।”
भेटका क्रममा दुवै नेताले सहिदहरूप्रति श्रद्धा प्रकट गर्दै उनीहरूको सपना पूरा गर्न एकताबद्ध कम्युनिस्ट आन्दोलन आवश्यक रहेको धारणा राखे। नेपाली कम्युनिस्ट आन्दोलन हाल विभाजित र दिशाविहीन अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई पुनः सशक्त बनाउने विषयमा समेत सहमति व्यक्त भएको थियो।
“विप्लव कमरेडमा मैले कम्युनिस्ट आन्दोलनप्रतिको गहिरो हुटहुटी र इच्छाशक्ति देखेँ,” किरातीले भने, “सहिदहरूको सपना पूरा गर्न हामी सबैले मिलेर अघि बढ्नुपर्छ भन्ने भावना साझा थियो।”
यो भेटवार्तालाई कम्युनिस्ट आन्दोलनमा एकता र सहकार्यको सम्भावनाका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया