काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकचोटि नयाँ खालको क्रान्ति र विद्रोह अपरिहार्य भएको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी शक्तिहरूका षड्यन्त्रहरू विरुद्ध जनस्तरमा एकताबद्ध प्रतिरोध आवश्यक रहेको धारणा राखे।
“हामी फेरि बल गर्दैछौं, वर्गसँग जोडिँदैछौं,” अध्यक्ष प्रचण्डले भने, “जनयुद्धदेखि शान्ति प्रक्रिया, संविधानसभा हुँदै अहिलेसम्म नेतृत्वको जिम्मेवारी निभाउन सकेको छु। यही यात्राले मलाई फेरि नयाँ क्रान्तिको बाटो समात्न प्रेरित गरिरहेको छ। मेरो प्रतिबद्धता पनि यही नै हो।”
उनले शान्ति प्रक्रियासम्बन्धी बाँकी विषयहरू अगाडि बढिरहेको बताए तापनि त्यसमा पनि चलखेल भइरहेको आरोप लगाए। “विषय अगाडि बढेको छ, तर अझै पनि चलखेल भइरहेका छन्। तिखो नजरले हेरिरहनुपर्छ,” उनले भने, “यदि हामी एकताबद्ध भएनौं भने समस्यामा पर्न सक्छौं।”
शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीलाई परास्त गर्न संगठित र संकल्पबद्ध आन्दोलनको खाँचो रहेको उल्लेख गरे।
त्यस्तै, उनले ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्ने स्पष्ट पारे। “यसलाई अदालतको विषय बनाउनुको कुनै औचित्य छैन,” उनले भने, “यो राष्ट्रिय आन्दोलन थियो, त्यसैले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा आत्मसाथ गर्नुपर्छ।”
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया