काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा लोडसेडिङ अन्त्य राजनीतिक नेतृत्वको आँट र भिजनकै परिणाम भएको बताएका छन् ।
पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ऊर्जा संवादमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले ऊर्जा र कृषिलाई प्राथमिकता दिँदै १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य तय गरेको स्मरण गरे ।
उनले दोस्रो कार्यकालमा ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य गर्न जनार्दन शर्मालाई ऊर्जा मन्त्री र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय राजनीतिक आँटको उदाहरण भएको बताए ।
“यदि राजनीतिक नेतृत्वमा भिजन र जोखिम लिन सक्ने क्षमता नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,” प्रचण्डले भने ।
उनका अनुसार ऊर्जा क्षेत्रमा प्रगति रोक्ने मुख्य कारण पुराना कानुन, नियम र नौकरशाहीको परम्परागत सोच हो । उनले विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरी लगानीमैत्री वातावरण बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले स्व. पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने इमान्दार नेता भन्दै स्मरण गरे । साथै, उनले हालको सरकारलाई सुशासन र समृद्धिको अपेक्षा गर्न नसकिने भन्दै कांग्रेस र एमालेलाई भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिका लागि आलोचना पनि गरे ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया