काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई उनले निर्देशन दिएकी हुन्। उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिइन्।
जेन–जी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न आग्रह गरिन्।
उनले भनिन्, ‘ब्यूरोक्रेसी स्थायी सरकार हो। तपाईंहरु यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ। अनुभव, दक्षता र विशेषज्ञता पनि तपाईंहरुसँग हुन्छ। मेरो दाहिने–देब्रे जे भने पनि तपाईंहरु हो। मैले निर्देशन दिन सक्छु, सही गरेर दिन सक्छु तर त्यसको कार्यान्वयन तपाईंहरुले नै गर्ने हो। बोलेर मात्र हुँदैन। काम त तपाईंहरुले नै गर्ने हो। त्यसैले नतिजामूखी भएर काम गर्नुहोस्। काममा कुनै प्रकारको बहानाबाजी नहोस्।’
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया