काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको उदासीनताका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) र १२ कक्षाको नतिजा प्रकाशनमा निरन्तर ढिलाइ हुने गरेको आरोप लगाएका छन्।
आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले चार–पाँच लाख विद्यार्थीको परीक्षाफल निकाल्न नौ महिनाभन्दा बढी लाग्नु अस्वाभाविक र अस्वीकार्य भएको भन्दै तत्काल सुधार आवश्यक रहेको बताए।
उनका अनुसार विश्वविद्यालय र सम्बद्ध निकायहरूको कमजोरीका कारण प्रशोधन प्रक्रिया ढिलो हुनु शिक्षाको समग्र गुणस्तरमै असर पर्ने अवस्था देखिएको छ।
मन्त्री पुनले अहिले विश्वविद्यालयहरू सम्बन्धन विस्तारमा मात्रै लागिपरेको भन्दै विद्यार्थी संख्या घट्दो अवस्थामा समेत ‘कसले धेरै सम्बन्धन दिने’ भन्ने प्रतिस्पर्धाले शैक्षिक गुणस्तर कमजोर बनाएको टिप्पणी गरे।
“एसइई र १२ कक्षामा जम्मा केही लाख विद्यार्थी मात्रै छन्। तर नतिजा निकाल्न ८–९ महिना लाग्छ भने त्यो निश्चित रूपमा प्रणालीगत लापरबाही हो, मन्त्री पुनले भने, यस्ता समस्याको जड पहिचान गरेर छिटो समाधान गर्नैपर्छ।
उनले शिक्षा क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत विश्वविद्यालयतर्फ लैजाने तयारी भइरहेको पनि स्पष्ट पारे।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया