काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक गरिरहेका आर्थिक तथा सामाजिक परिवर्तनका योजनालाई अवास्तविक र तथ्यविहीन भन्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रसाईंका अभिव्यक्तिलाई खण्डन गर्दै मन्त्री पुनले देशको वास्तविक आर्थिक अवस्थाको चित्रण गरेका हुन्।
पुनका अनुसार शिक्षा क्षेत्र अहिले गम्भीर संसाधन अभावबाट गुज्रिरहेको छ। उनले विद्यालयहरूमा छाना, कक्षाकोठा, शिक्षक भत्ता जस्ता आधारभूत आवश्यकताका माग पूरा गर्न सरकारसँग पर्याप्त बजेट नै नभएको उल्लेख गरे। धेरै शिक्षकलाई स्थानीय भत्ता वा महँगी भत्ता प्रदान गर्नसमेत कठिनाइ भएको स्थिति उनले खुलेर बताएका छन्।
यस्तो आर्थिक संकटबीच प्रसाईंले राखेका प्रस्ताव—छ लाखभन्दा बढी मानिसलाई कालो सूचीबाट हटाउने, सेना–प्रहरीको तलब एक लाख रुपैयाँ पुर्याउने, २० लाखसम्मको ऋण मिनाहा गर्ने—व्यवहारिक रूपमा असम्भव रहेको मन्त्री पुनको टिप्पणी छ। बैंकमा जनताको बचत रकम रहेको भन्दै त्यसलाई जोखिममा पारेर ऋण मिनाहा गर्न नसकिने उनले स्पष्ट पारे।
मन्त्री पुनले ‘पैसा छापेर समाधान निकाल्न सकिन्छ’ भन्ने धारणा पूर्ण रूपमा गलत रहेको बताउँदै यस्तो भ्रम फैलाउने कामले जनतालाई झुक्याउने आरोप प्रसाईंमाथि लगाए।
यसअघि पनि नेपाललाई छिट्टै सिंगापुर बनाइदिने, रेल–जहाज सञ्चालन गरिदिनेजस्ता अवास्तविक आश्वासनहरूले मात्र हाँसोको विषय बनाएको उदाहरण दिँदै उनले प्रसाईंलाई यथार्थ बुझेर मात्रै अभिव्यक्ति दिन आग्रह गरे।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार













प्रतिक्रिया