विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा खानामा मिलाइएको विष सेवनबाट ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका ७० वर्षीय पति भक्तबहादुर राईको अवस्था गम्भीर छ।
स्थानीय स्रोतका अनुसार, शनिबार दिउँसो भक्तबहादुरलाई घर नजिकै खोल्सामा बेहोस अवस्थामा फेला पारेर उद्धार गरिएको थियो। त्यसै समयमा घरमा उनकी पत्नी इन्द्रमाया पनि बेहोस अवस्थामा भेटिएकी थिइन्। दुवैलाई तत्काल नोबेल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। तर उपचारको क्रममा शनिबार राति इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको छ। घटनास्थलमा खोरमा तीन वटा कुखुरासमेत मृत फेला परेको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ। प्रारम्भिक बयान अनुसार, उनले खाना विषयुक्त बनाएको स्वीकार गरेकी छन् र विषको बट्टा आगोमा जलाएको पनि बताएकि छन्। प्रहरी बट्टा जलेको अवस्थामा बरामद गरेको जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको विषको प्रकार र कारणबारे पोस्टमार्टम, फरेन्सिक तथा प्रयोगशाला परीक्षणपछि मात्रै निश्चित जानकारी उपलब्ध हुने जनाएको छ। सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया