काठमाडौं । नेकपा एमालेले आसन्न ११औँ महाधिवेशनका लागि व्यापक जनपरिचालनको तयारी गरेको पार्टी नेता महेश बस्नेतले बताएका छन्। संचारकर्मीसँग आइतबार कुरा गर्दै उनले महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन समारोहमै करिब पाँच लाख सहभागी जुटाउने लक्ष्य रहेको जानकारी दिए।
उनका अनुसार युवा सङ्घमार्फत ५० हजारभन्दा बढी जेन–जी युवाहरू, ‘नेसनल भोलेन्टियर फोर्स’ बाट उद्घाटनमा १० हजार र बन्दसत्रमा ५५० स्वयंसेवक परिचालन गरिनेछ। काठमाडौं उपत्यका, विशेष कमिटी र सम्पर्क कमिटीहरूलाई जनपरिचालनमा विशेष जिम्मेवारी दिइएको बस्नेतले बताए।
महाधिवेशनमा सहभागी सवारीसाधनका लागि पूर्वतर्फ भक्तपुरको जगातीमा ७ सय गाडी अट्ने ठाउँलगायत गठ्ठाघर क्षेत्र, नागरिक उड्डयन प्राधिकरण र टक्सार विभागको जग्गामा पार्किङको व्यवस्था मिलाइएको उनले बताए। महाधिवेशन प्रतिनिधि छनोट अधिकांश स्थानमा टुंगिएको र विवादित क्षेत्र पनि सहमतिमै समाधान हुने विश्वास उनले व्यक्त गरे।
बस्नेतका अनुसार यसपटक प्रतिनिधिमा प्रत्येक क्षेत्रबाट एक जना ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य गरिएकाले कुल प्रतिनिधिमध्ये झन्डै एक चौथाइ युवा हुनेछन्। केन्द्रिय कमिटीमा कम्तीमा १० प्रतिशत युवालाई स्थान दिनुपर्ने पनि उनले जोड दिए।
एमाले राष्ट्रियता, विकास र समृद्धिको एजेन्डामा अडिग रहेको उल्लेख गर्दै बस्नेतले ‘जेन–जी मुभमेन्ट’ का नाममा भएका ध्वंसात्मक गतिविधि पुनर्निर्माण गर्ने र जायज अपेक्षालाई सम्बोधन गर्ने शक्ति एमाले र अध्यक्ष केपी शर्मा ओली मात्र भएको दाबी गरे। उनले महाधिवेशन भव्य र सभ्य बनाइने बताउँदै पार्टीले जनतामा आशा पुनः जगाउने काम गर्ने बताए।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया