काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजिन (सुगेन) शाक्य बैंकिङ कसूरमा संलग्न रहेको आशंकामा पक्राउ परेका छन्। उनलाई बुधबार ललितपुर-११, ईखाँछेबाट पक्राउ गरी थप अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी) स्राेतले जनाएकाे छ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार शाक्यमाथि बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुर्याएको आरोप छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप मुद्दामा पनि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
अनुसन्धानले शाक्यले नियमविपरीत ‘सुपर एजेन्ट’ बनाइएका संस्थालाई एडभान्स रकम उपलब्ध गराएको र पछि रेमिट कारोबार स्थगित भए पनि सो रकम स्वार्थ समूहले लामो समयसम्म उपयोग गर्न दिएको तथ्य भेटिएको छ। यस क्रममा प्रभु बैंकलाई करिब ८ करोड ९३ लाखभन्दा बढी क्षति भएको सिआईबी को दाबी छ।
सो रकम लुकाउन कर्जा प्रवाह गराएर कर्जा दुरुपयोगमा समेत संलग्नता देखिएको भन्दै प्रभु बैंकका सीईओ अशोक शेरचनमाथि पनि बैंकिङ कसूरअन्तर्गत अनुसन्धान भइरहेको आईबीले जनाएको छ।
यसबाहेक, प्रिफन्डिङ प्रणालीको दुरुपयोग गर्दै प्रभु मनि ट्रान्सफरसहित सम्बन्धित स्वार्थ समूहलाई फाइदा पुर्याइने गरी अर्बौँ रकम नियमविपरीत उपलब्ध गराइएको र सो प्रक्रियामा बैंकले आवश्यक ब्याजसमेत नलिएको आरोप शाक्यमाथि छ।
आईबीले उक्त गतिविधिले बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुगेको पुष्टि हुने संकेत दिएको छ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार













प्रतिक्रिया