एजेन्सी । फुटबलका सुपरस्टार खेलाडी लियोनल मेस्सी एक हाई-प्रोफाइल खेलकुद कार्यक्रमका लागि शनिबार भारत आउँदैछन् ।

मेस्सीका प्रशंसकहरूका लागि यो अवसर निकै महँगो मूल्यमा आएको छ । रिपोर्टहरूका अनुसार, ‘द गोट इन्डिया टुर’ का आयोजकहरूले मेस्सीसँग एउटा तस्बिर खिचाउन ९ लाख ९५ हजार भारु र जीएसटी लाग्ने घोषणा गरेका छन् ।

advertisement

यसका लागि १०० वटा विशेष स्लटहरू मात्र उपलब्ध छन् । यो विशेष भेटघाट हैदराबादको प्रसिद्ध फलकनुमा प्यालेसमा हुनेछ । डिस्ट्रिक्ट एपमा यसको बुकिङ खुला गरिएको छ ।

मेस्सी दिउँसो ४ बजे हैदराबाद आइपुग्ने र त्यसपछि साँझ ७ बजेदेखि उप्पल रंगशालामा सुरु हुने तीन घण्टाको भव्य कार्यक्रममा जाने तालिका छ । उनीसँगै विश्वकप विजेता टिमका साथी रोड्रिगो डी पल र लामो समयदेखिका स्ट्राइकर साथी लुइस सुआरेज पनि सहभागी हुनेछन् ।

रंगशालाको कार्यक्रम ‘सिंगारेनी आरआर–९’ र ‘अपर्णा मेसी अल स्टार्स’ बीचको २० मिनेटको प्रदर्शनी खेलबाट सुरु हुनेछ ।

औपचारिक प्रशिक्षण नपाएका १० प्रतिभावान युवासहित १५ बालबालिकाले यसमा सहभागी हुने मौका पाउनेछन् । तेलांगनाका मुख्यमन्त्री रेवन्त रेड्डी अन्तिम पाँच मिनेटमा खेलमा सहभागी हुनेछन् ।

युनिसेफका सद्भावना दूतसमेत रहेका मेसीले सञ्चालन गर्ने फुटबल क्लिनिक कार्यक्रमको मुख्य आकर्षण हुनेछ । बालबालिकाहरूले मेसी, डी पल र सुआरेजबाट प्रत्यक्ष प्रशिक्षण तथा मार्गदर्शन पाउनेछन् ।

यी स्टार खेलाडीहरू विशेष पेनाल्टी सुटआउटमा पनि सहभागी हुनेछन् । कार्यक्रमको अन्त्यमा मुख्यमन्त्रीले मेस्सीलाई सम्मान गर्नेछन् ।

मेस्सी करिब एक घण्टा रंगशालामा बस्ने अपेक्षा गरिएको छ । उनी आइतबार मुम्बई प्रस्थान गर्नुअघि त्यो रात हैदराबादमै बिताउनेछन् ।

मेसीले भारत भ्रमणका क्रममा चार प्रमुख शहरहरू कोलकाता, हैदराबाद, मुम्बई र दिल्ली पुग्नेछन् ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com