काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल अझै करिब १६ महिना बाँकी रहँदै तीन जना चर्चित मेयरहरू संघीय संसदको चुनावतर्फ उन्मुख भएका छन्। २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरका मेयर बालेन्द्र साह, भरतपुर महानगरकी मेयर रेनु दाहाल र धरान उपमहानगरका मेयर हर्क साम्पाङ प्रतिनिधिसभा चुनावको तयारीमा जुटेका हुन्। संसदीय निर्वाचनमा उम्मेदवार बन्न उनीहरूले मेयर पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएर सनसनीपूर्ण जित निकालेका बालेन अहिले संघीय राजनीतिमा प्रवेशको तयारीमा छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग संवादमा रहेको र वैकल्पिक रूपमा आफ्ना समर्थकले दर्ता गरेको दलमार्फत चुनाव लड्ने सम्भावनामा पनि काम गरिरहेको चर्चा छ। यस्तै, धरानका मेयर हर्क साम्पाङ पनि स्थानीय तह छाडेर संसदीय राजनीतिमा होमिने तयारीमा छन्। श्रम संस्कृतिको मुद्दा उठाउँदै चर्चामा रहेका साम्पाङले आफ्नै पार्टी स्थापना गरेर देशव्यापी राजनीतिक गतिविधि बढाएका छन्, यद्यपि कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने टुंगो लागेको छैन।
भरतपुर महानगरकी मेयर रेनु दाहाललाई नेकपा (माओवादी केन्द्र) ले चितवन–३ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ, जसले उनको उम्मेदवारी लगभग सुनिश्चित भएको संकेत गर्छ। विकासमुखी मेयरको छवि बनाएकी दाहाल दोस्रो कार्यकाल पूरा नगरी संसदीय चुनावतर्फ लागेकी हुन्। यी तीनबाहेक अन्य प्रमुख दलका हाइप्रोफाइल स्थानीय जनप्रतिनिधिहरूले भने हालसम्म आमनिर्वाचन लड्ने घोषणा गरेका छैनन्, कांग्रेसले त बहाल स्थानीय जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने स्पष्ट नीति नै लिइसकेको छ।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया