एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सोमबार राति न्यूयोर्कस्थित एक संघीय अदालतमा उपस्थित हुँदै आफूविरुद्ध लगाइएका लागूऔषध तथा हतियार तस्करीसम्बन्धी सबै आरोप अस्वीकार गरेका छन्।
सीएनएनका अनुसार पहिलो सुनुवाइका क्रममा मादुरोले आफ्नो गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै आफूलाई अपहरण गरिएको बताएका छन्। अदालतमा बोल्दै उनले आफू कुनै अपराधी नभई अझै पनि भेनेजुएलाको वैधानिक राष्ट्रपति रहेको जिकिर गरे।
मादुरोका कानुनी सल्लाहकारहरूले अमेरिकी कारबाहीलाई ‘सैन्य अपहरण’ को संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय कानुन र स्थापित कानुनी प्रक्रिया उल्लंघन गरेको बताएका छन्। अदालतले यस मुद्दाको अर्को सुनुवाइ मार्च १७ मा तोकेको छ।
बचाउ पक्षले अमेरिकी अदालतको क्षेत्राधिकारमाथि समेत प्रश्न उठाउने तयारी गरेको छ। उनीहरूका अनुसार मादुरोलाई विदेशी भूमिमा अमेरिकी निकायहरूले गैरकानुनी रूपमा पक्राउ गरेको दाबी नै प्रमुख कानुनी आधार बन्नेछ।
सुनुवाइमा मादुरोकी पत्नी सिलिया फ्लोरेस पनि उपस्थित थिइन्। अनुहारमा चोट देखिएकी उनले आफू भेनेजुएलाको प्रथम महिला भएको परिचय दिँदै सबै आरोप अस्वीकार गरिन्।
अमेरिकी अभियोजन पक्षले मादुरो र उनका सहयोगीहरूले लागूऔषध तस्कर तथा आतंकवादी समूहहरूसँग मिलेर संयुक्त राज्य अमेरिकामा कोकेन तस्करी गर्ने षड्यन्त्र गरेको आरोप लगाएको छ। साथै, मादुरोमाथि मेसिन गन राखेको आरोपसमेत छ, जसमा कडा सजाय हुन सक्ने बताइएको छ।
आरोपपत्रमा मादुरोका छोरा निकोलस मादुरो गुएरा, आन्तरिक मन्त्री डिओस्डाडो काबेलो तथा अमेरिकाले विदेशी आतंकवादी संगठनको सूचीमा राखेको गिरोह ‘ट्रेन डे अरागुआ’ का नेता हेक्टर गुरेरो फ्लोरेसको नामसमेत उल्लेख गरिएको छ।
सुनुवाइका क्रममा मादुरोको खुट्टामा साङ्ला बाँधिएको थियो। उनी र उनकी पत्नी एउटै टेबलमा बसेका थिए र अनुवादका लागि हेडफोन प्रयोग गरेका थिए। न्यायाधीशले उनीहरूमाथि लगाइएका सम्पूर्ण आरोप अदालतमा पढेर सुनाएका थिए।
यसअघि मादुरोलाई बोकेको हेलिकप्टर अदालत नजिकैको हेलिप्याडमा अवतरण गरेको थियो। त्यसपछि उनलाई कडा सुरक्षा बीच भ्यानमार्फत सिधै अदालत पुर्याइएको थियो।
मुद्दा चलिरहेका बेला अदालत बाहिर ठूलो संख्यामा मानिसहरू भेला भएका थिए। एक समूहले अमेरिकी कदमको विरोधमा प्रदर्शन गरे भने अर्को समूहले मादुरोको विरोध गर्दै नाराबाजी गरेको थियो।
सुनुवाइ समाप्त भएपछि मादुरो बाहिर निस्कँदा दर्शकदीर्घाबाट एक व्यक्तिले उनलाई ‘आफ्नो अपराधको मूल्य चुकाउनुपर्ने’ टिप्पणी गरे। त्यसको जवाफमा मादुरोले आफू अन्ततः स्वतन्त्रता हासिल गर्ने प्रतिक्रिया दिएका थिए।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार













प्रतिक्रिया