काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन्। आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग एक निजी भेटवार्ता गरेका छन्।
स्रोतका अनुसार, कुलमानले रविलाई उनका निवासमै भेटेका थिए। भेटवार्तामा मुख्यत: पार्टी समायोजन, एकता प्रक्रिया र आगामी रणनीतिका विषयमा छलफल भएको जनाइएको छ। कुलमानले एकता प्रक्रिया सम्मानजनक र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संसोधन, र प्रत्यक्ष निर्वाचन उम्मेदवारसम्बन्धी विषयमा प्याकेजमा सहमति खोजेको बताइएको छ। यद्यपि, रास्वपा र उज्यालो नेपालबीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भए पनि केन्द्रीय समितिका सदस्यहरू र समानुपातिक सूचीमा कति समायोजन गर्ने भन्ने विषयमा अझै छलफल बाँकी रहेको छ।
स्रोतका अनुसार, बालेन्द्र शाहको तर्फबाट केन्द्रीय समितिमा २६ सदस्य राखिएको भए पनि उज्यालो नेपालको तर्फबाट समायोजन स्पष्ट छैन। त्यस्तै, समानुपातिक बन्द सूचीमा उज्यालोले समावेश गरेका केही व्यक्तिहरूलाई प्राथमिकतामा माथि राख्नुपर्ने अडान लिएको छ।
रास्वपा–उज्यालो नेपालबीचको सहमतिपत्रमा कुलमान घिसिङलाई उपसभापति बनाउने उल्लेख गरिएको थियो। तर, घिसिङ अहिलेसम्म रास्वपाको बैठकमा सहभागी भएका छैनन्। उनले पार्टी समायोजन प्रक्रियापछि मात्रै बैठकमा जाने बताएका छन्।
मन्त्रीबाट राजीनामापछि कुलमानले राजनीतिक भेटघाट तीव्र बनाएका छन्। हिजो पनि उनले आफ्नो निवासमै पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












प्रतिक्रिया