काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले एकलौटी रूपमा विशेष महाधिवेशनको कार्यविधि पारित गरेको भन्दै कडा आपत्ति जनाएका छन्। संस्थापन पक्षको बहिष्कारकै बीच पारित गरिएको कार्यविधि पार्टी विधानविपरीत भएको उनको दाबी छ।
प्रवक्ता महतले गगन–विश्वप्रकाश समूहको कदम विधान र प्रक्रियाको उल्लङ्घन भएको टिप्पणी गरे। उनले अघि बढाइएको भनिएको कार्यविधि र प्रक्रियामा विधि र विधान कतै पनि नमिलेको जिकिर गर्दै संस्थापन पक्षसँग भइरहेको अनौपचारिक वार्तालाई बेवास्ता गरेर एकलौटी निर्णय गरिएको आरोप लगाए।
‘हामी अनौपचारिक रूपमा वार्ता गरिरहेका थियौँ, तर उहाँहरूले त्यसलाई उल्लङ्घन गर्नुभयो,’ महतले भने, ‘पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने भन्ने कुरा अब उहाँहरूकै हातमा छ।’
विशेष महाधिवेशनका नाममा भएका निर्णयहरूलाई संस्थापन पक्षले सहजै स्वीकार नगर्ने संकेत गर्दै महतले इतर पक्षको आगामी निर्णय हेरेर आफूहरू पनि त्यसअनुसार अघि बढ्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार













प्रतिक्रिया