काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री गगनकुमार थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमार्फत अभियान सञ्चालन गर्ने निर्णय सार्वजनिक गरिएको हो।

प्रस्तावअनुसार राष्ट्रिय पुनर्जागरण अभियानको मुख्य उद्देश्य निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षाको भावना जागृत गर्नु रहेको छ। साथै राजनीतिलाई जनमुखी र समाजकेन्द्रित बनाउने, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमान पुनर्स्थापित गर्ने तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

advertisement

अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दी अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ। यसबाट राष्ट्रिय आत्मविश्वास, सामाजिक एकता र सद्भाव अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

महामन्त्री थापाका अनुसार पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीसहित परिचालन गरिनेछ। अभियानले समाजलाई घृणा, द्वेष र प्रतिशोधबाट माथि उठाउँदै राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न सहयोग पुर्‍याउने, राष्ट्रिय स्वाभिमान बढाउने तथा अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।

संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समानतालाई प्रवर्द्धन गर्ने मार्गचित्रसहित आम नागरिकको हृदयमा नयाँ जागरण र भरोसाको किरण छर्ने लक्ष्य अभियानले लिएको प्रस्तावमा उल्लेख छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com