काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुँदैछ।
दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि तय गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन गरिएको हो। सोमबार बन्दसत्र सुरु भए पनि विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिँदा महाधिवेशनको कार्यक्रम परिमार्जन गर्नुपरेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
उनका अनुसार आज पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया निरन्तर चल्नेछ। विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन्।
आचार्यका अनुसार मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुनेछ। सोही दिन निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरू भङ्ग गरिने तयारी गरिएको छ।
यता, संस्थापन पक्षलाई सहमतिमा ल्याउने प्रयास पनि जारी छ। यसका लागि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरूबीच आज पनि छलफल हुने भएको छ। वार्तामा विशेष महाधिवेशन पक्षधर गगन–विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुने जनाइएको छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया