काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनमा सक्रिय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता–कार्यकर्तामाथि कडा कारबाहीको तयारी थालेको छ। बालुवाटारमा चलिरहेको त्रिपक्षीय वार्ताबाट सहमति ननिस्किए पार्टीबाट निष्कासनसम्मको निर्णय हुन सक्ने संकेत संस्थापन पक्षले दिएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगिसकेका छन्। तर विशेष महाधिवेशन पक्षधरले यसअघि नै उक्त बैठक बहिष्कार गर्ने निर्णय गरिसकेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वार्तामा निष्कर्ष ननिस्किएसम्म सानेपाको बैठकमा सहभागी नहुने अडान दोहोर्याएका छन्।
केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता दीपक खड्काका अनुसार संस्थापन पक्षले गगन–विश्वसहितका नेतामाथि निष्कासनको विकल्पसमेत खुलेर छलफल गरिरहेको छ। उनले जिल्ला सभापतिहरू सानेपामा भेला भई सामूहिक हस्ताक्षरसहित दबाबमूलक गतिविधि गरिरहेको र केन्द्रीय कार्यालयमै हस्ताक्षर संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिए।
सभापति शेरबहादुर देउवानिकट एक नेताले पनि बालुवाटारको वार्तामा सहमति नजुटे सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट विशेष महाधिवेशनमा संलग्न नेताहरूलाई कारबाही गर्ने विषयमा गम्भीर छलफल भइरहेको पुष्टि गरे। “अब दोस्रो चरणको वार्तामा पनि सहमति आएन भने निष्कासनको विकल्प बाहेक अरू बाटो देखिँदैन,” ती नेताले बताए।
केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइराला पनि उपस्थित छन्। उनी यस विषयमा भइरहेको छलफलका प्रत्यक्ष साक्षी बनेका छन्।
देउवा र कार्यवाहक सभापति खड्का पक्षले विशेष महाधिवेशन निर्वाचन प्रक्रियातर्फ अघि बढिसकेकाले सहमतिको सम्भावना क्रमशः कमजोर हुँदै गएको निष्कर्ष निकालेका छन्। भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेकाले अब मिल्ने आधार सीमित भएको उनीहरूको बुझाइ छ।
यसअघि निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि विशेष महाधिवेशन सचिवालय संयोजक मनोमणि आचार्यले ‘रेल गुडिसकेको’ प्रतिक्रिया दिएका थिए। उनले कुनै हालतमा निर्वाचन प्रक्रिया नरोकिने स्पष्ट पारेका थिए।
निर्वाचन प्रक्रिया अघि बढेपछि उद्घाटन सत्रमा सम्बोधन गरेका डा. चन्द्र भण्डारी र सुनील शर्मा भृकुटीमण्डप छाडिसकेका छन्। डा. भण्डारी भने संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका छन्।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया