काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उमेदवारले नाम फिर्ता लिएका छन् ।
बन्दसूचीमा नाम समावेश भएका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिर्ता लिन सक्ने भनी निर्वाचन आयोगले सूचना प्रकाशित गरेको थियो । उक्त अवधिमा एकलसहित १७ चुनाव चिह्नका १७५ जना उमेदवारद्ये नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्दसूचीमा नाम पेस गर्ने राजनीतिक दलका उमेदवारसमेत छन् ।
नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० उमेदवार रहेको सहायक प्रवक्ता जिसीले बताए । उक्त पार्टी अन्य दलसँग मिलेकाले पेस भएका ११० जना उमेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएको जनाइएको छ ।
यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेकपा (एमाले) का पाँचजना उमेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार/चारजना उमेदवारले पनि नाम फिर्ता लिएका छन् । यस्तै, नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई/दुईजना उमेदवारले नामी फिर्ता लिएका छन् ।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक/एक उमेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक/एक जना उमेदवारले नाम फिर्ता लिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।
- रासस
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया