काठमाडौं । नियमित महाधिवेशनसम्म सभापति शेरबहादुर देउवाको भूमिका र स्थान के हुने भन्ने विषयमा देखिएको विवाद अझै टुंगोमा पुग्न सकेको छैन ।

छलफलमा सहभागी नेताहरुका अनुसार विशेष महाधिवेशन पक्षधरले सभापति देउवाको भूमिका अब पार्टीमा सक्रिय खालको हुन नहुने, निर्वाचनमा एमालेसँग गठबन्धन गर्न नहुने, विशेष महाविधेशनको स्वामित्व लिनुपर्नेलगायतका प्रस्ताव राखेका थिए ।

advertisement

“बाँकी प्रस्तावमा विवाद छैन, तर सभापतिको भूमिका के हुने भन्ने विषयमा कुरा मिल्न बाँकी रहेको छ,” बैठकमा सहभागी नेता गुरु घिमिरेले भने ।

नियमित महाधिवेशनसम्म अर्थात् अन्तरिम समयको नेतृत्वमा देउवालाई के गर्ने ? भन्ने विषयमा छलफल भएको थियो ।

विशेष महाधिवेशन पक्षधरका नेताहरुले नयाँ नेतृत्व चयन गरेर जाने र सभापति देउवालाई विस्थापित गर्नुपर्ने धारणा राखेका थिए ।

देउवाले पार्टीको नियमित महाधिवेशन उद्घाटन सभापतिकै हैसियतमा गर्ने हो भने त्यसबेलासम्म कुनै पनि गतिविधिमा सक्रिय हुन नहुने प्रस्ताव विशेष महाधिवेशन पक्षधरको थियो ।

त्यसमा कुरा मिल्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

तर संस्थापन पक्षले सभापतिका विषयमा निर्णय गर्न नमानेको नेताहरुले बताएका छन् । बैठकमा सहभागी नेता प्रदिप पौडेलका अनुसार वार्ता टुंगिएको पनि होइन भंग भएको पनि होइन ।

“नेताहरु सभापतिलाई भेट्न जानुभएको छ, आउनुभएको छैन,” पौडेलले भने ।

संस्थापन पक्षले एमालेसँग गठबन्धन नगर्ने कुरामा लचिलो भएको छ भने विशेष महाधिवेशनको स्वामित्व पनि केही भाषा मिलाएर लिन सकिने धारणा राखेको छ । अर्का एक नेताका अनुसार देउवासमूह बिहानसम्म कुनै पनि कुरा सुन्न तयार थिएन । अहिले सभापतिको प्रस्ताव पनि लिएर छलफलका लागि गएको छ ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com