काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय समितिको आधिकारिक निर्णयभन्दा बाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले पार्टीलाई एकताबद्ध बनाएर लैजान संस्थापन पक्षले अधिकतम लचकता अपनाएको बताए।
उनले बुधबार बिहानसम्म सहमति जुट्ने विश्वास व्यक्त गर्दै यदि महामन्त्रीहरूले पार्टीको आधिकारिक निर्णय नमानेमा नेतृत्वले अन्यथा सोच्नुपर्ने स्थिति आउन सक्ने संकेत गरे।
प्रवक्ता महतले भने, ‘अहिलेको यो विशेष महाधिवेशन भनिएको भेलालाई स्थगन गरेर पार्टीको विधान र निर्णय अनुसार अघि बढ्न हामीले आग्रह गरेका छौं। पार्टीको निर्णय भन्दा अन्यथा किसिमबाट हामी कोही पनि जानु हुँदैन।’
उनले विशेष महाधिवेशन पक्षधरले आफ्नो निर्वाचन कार्यतालिका पटक-पटक सार्नुलाई सकारात्मक रूपमा लिँदै वार्ता र संवादबाटै निकास निस्कने अपेक्षा गरे।
‘वार्ता टोलीका साथीहरूले छलफल गरिरहनुभएको छ। नेतृत्वले पार्टी नफुटोस् र सबै एकताबद्ध भएर निर्वाचनमा जान सकियोस् भनेर अधिकतम लचकता देखाएको छ,’ महतले भने।
प्रवक्ता महतले १५औं महाधिवेशनको मिति तोकिसकिएको अवस्थामा नेतृत्व परिवर्तनको हतारो गर्नुपर्ने कारण नरहेको जिकिर गरे। ‘१५ औं महाधिवेशन बैशाखमा तोकिएको छ, नेतृत्व परिवर्तन त्यहीँबाट हुन्छ। अहिले पार्टी विभाजनको बाटोमा कसैलाई पनि फाइदा छैन,’ उनले भने।
उनले बुधबार बिहान ८ बजे पुनः केन्द्रीय समितिको बैठक बस्ने र त्यसअघि नै सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गरे।
यदि सहमति नजुटेमा पार्टीले विधान बमोजिम थप निर्णय लिने उनको भनाइ थियो।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया