काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडरमा अस्थायी रूपमा विद्युत् कटौती गर्न लागिएको जानकारी दिएको हो ।
सूचनाअनुसार गणेशस्थान फिडर, भंगाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली काटिनेछ । फिडरको लोड व्यवस्थापन गर्नुका साथै नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर जडान तथा भूमिगत तार चार्ज गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
गणेशस्थान फिडरअन्तर्गत भोटेचोक, गणेशस्थान आसपासका क्षेत्रमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म विद्युत् सेवा बन्द रहनेछ ।
त्यसैगरी भंगाल फिडरअन्तर्गत तल्लो भंगाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान ११ः३० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुनेछ ।
शिवपुरी फिडरअन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ ।
निर्धारित कार्य समयअगावै सम्पन्न भएमा तोकिएको समयभन्दा पहिले नै विद्युत् सेवा पुनः सुचारु हुने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया