काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन्।

लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो। सङ्घीय गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यस सुरक्षा गोष्ठीमा यस वर्ष विशेष गरी आन्तरिक सुरक्षा र निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थामा जोड दिइएको छ।

advertisement

मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याइसकेको छ। साथै, निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि–२०८२ स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ।

सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाएको छ। यस निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र करिब ३४ हजार सशस्त्र प्रहरी परिचालन गरिने जनाइएको छ।

नेपाल प्रहरीले दुई हजार ८४५ मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com