काठमाडौं । नेपाली कांग्रेसको गगन थापा–विश्वप्रकाश शर्मा समूहको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्।
कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतको हस्ताक्षरसहित पार्टी विधानअनुसार आह्वान गरिएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको हो। यसै महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापतिमा चयन भएका छन्। बुधबार राति ढिलो गरी उनीहरूलाई सर्वसम्मत रूपमा उपसभापति घोषणा गरिएको हो।
सभापतिमा गगन थापा चयन भएसँगै सहमहामन्त्री पदमा खस आर्यतर्फ उदय शमशेर राणा र दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’ सर्वसम्मत चयन भएका छन्। त्यस्तै, मधेसीतर्फ मुक्ताकुमारी यादव, महिलातर्फ डिला संग्रौला, मुस्लिमतर्फ फरमुल्ला मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा पनि सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन्।
चार दिनसम्म चलेको विशेष महाधिवेशनले थापालाई सभापति चयन गर्नु अघि नै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्रीसमेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको थियो। तर विशेष महाधिवेशनको हलले उक्त कारबाहीलाई खारेज गरेको छ।
जेनजी आन्दोलनपछि नेतृत्व रूपान्तरणको एजेन्डा अघि सार्दै गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूले देउवा समूहसँग महाधिवेशनको माग गर्दै आएका थिए। तर निर्वाचनअघि महाधिवेशन सम्भव नभएको भन्दै देउवा समूह तयार नहुँदा कांग्रेस विभाजनको स्थितिमा पुगेको थियो। यही विभाजनको निर्णायक मोडमा गगन थापा सभापति चयन भएका हुन्। देउवा समूहविरुद्धको विद्रोहबाट आएको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको हो।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार












प्रतिक्रिया