काठमाडौं । माघी पर्वको अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्। थारू कल्याणकारिणी सभा तथा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा टुँडिखेलमा सम्पन्न महोत्सवमा प्रधानमन्त्री कार्की प्रमुख अतिथिका रूपमा उपस्थित भएकी हुन्।
महोत्सव अवलोकनका क्रममा प्रधानमन्त्री कार्कीले थारू समुदायको मौलिक कला, संस्कृति र परम्परालाई झल्काउने विविध सांस्कृतिक झाँकीहरूको अवलोकन गरिन्। ‘थारू कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा थारू समुदायको ऐतिहासिक जीवनशैली र सांस्कृतिक पहिचानलाई प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले औलोजस्तो कठिन रोगसँग संघर्ष गर्दै तराईलाई आवाद बनाउने थारू समुदायको योगदानको उच्च प्रशंसा गरिन्। थारू समुदायसँग आफ्नो व्यक्तिगत जीवनको पनि गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उनले बाल्यकाल थारू साथीहरूसँग बितेको स्मरण गरिन्।
उनले भनिन्, “थारू समुदायको भान्सामा पाक्ने परिकारहरूको स्वाद आज पनि मेरो स्मृतिमा ताजा छ। त्यसैले माघी पर्व केवल थारू समुदायको मात्र होइन, मेरो लागि पनि विशेष पर्व हो।”
विभिन्न समुदायहरूले आ–आफ्नो भाषा, शैली र परम्पराअनुसार पर्व मनाए पनि त्यसको भावनात्मक मर्म एउटै रहेको बताउँदै प्रधानमन्त्री कार्कीले विविधतामै नेपालको शक्ति रहेको उल्लेख गरिन्। “हामी विविध छौँ, तर एउटै छौँ। बहुलतामै हाम्रो एकता र पूर्णता निहित छ,” उनले भनिन्।
नेपाल विश्वसामु एकता, सद्भाव र सहअस्तित्वको उत्कृष्ट उदाहरणका रूपमा उभिएको उल्लेख गर्दै उनले यही नै नेपालको मौलिक पहिचान र शक्ति भएको बताइन्।
प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थितिमा आपसी विश्वास, सहकार्य र सद्भावलाई अझ सुदृढ गर्दै देशलाई शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “यस्ता सांस्कृतिक पर्वहरूले आपसी समझदारी र सहिष्णुतालाई मजबुत बनाउँछन्। त्यसैले सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सक्रिय हुन आवश्यक छ।”

advertisement

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com