काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन आयोगमा पुगेर सिंगो केन्द्रीय समिति उपस्थित रहेको दाबी गर्दै आधिकारिक पक्ष आफूहरू नै भएको बताएका छन्।

शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आयोग पुगेका कोइरालाले आयोगका पदाधिकारीहरूसँग भने, “सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छन्, केही चोइटिएर गए होलान्। विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा पनि हामीसँग छ।  उनले आयोगलाई व्यक्तिभन्दा संस्था हेर्न आग्रह गरेका छन्।

advertisement

त्यसपछि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरेका छन्। ५४ प्रतिशत प्रतिनिधिले असोज २९ गते खड्कालाई विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नहुने बताए।

खड्कासहितका नेताहरूले आयोगसँगको छलफलमा हालै सम्पन्न विशेष महाधिवेशन विधानअनुरूप नभएको दाबी गरे। उनका अनुसार गगन थापा सभापतित्वमा चयन गरिएको नयाँ कार्यसमिति वैध नभएको हो। उनले थापासहितका तीन नेतालाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी कारबाही गरिएको र यसको जानकारी आयोगलाई पठाइसकेको बताए।

खड्काले उल्लेख गरे कि तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समिति र सभापतिलाई सदस्यता सूची नबुझाएपछि नियमित महाधिवेशन हुन नसकी वैशाखमा सार्नुपरेको थियो। केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको र विधानअनुसार सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको पनि उनले बताए।

निर्वाचन आयोगमा खड्का, कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेत लगायत उपस्थित थिए।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com