काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजनाथ पाण्डेले पदबाट राजीनामा दिने तयारी गरेका छन्। स्रोतका अनुसार उनले आज मेयर बालेन शाहलाई राजीनामा बुझाएर दिउँसो ३ बजे महानगरपालिकाबाट औपचारिक बिदाइ लिनेछन्। यससँगै पाण्डे काठमाडौँ महानगरपालिकाको प्रहरी बल प्रमुखको जिम्मेवारीबाट बाहिरिने भएका छन्।

पाण्डे कुन दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्ने विषय भने अहिलेसम्म खुलिसकेको छैन। तर उनी निकट स्रोतका अनुसार मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पाण्डे पनि सोही पार्टीबाट राजनीतिक यात्रा अघि बढाउने तयारीमा छन्।

advertisement

यसैबीच, मेयर बालेन शाहले पनि मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको बताइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटिरहेका छन्।

भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’पछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन हुँदा मेयर शाहले पाण्डेलाई गृहमन्त्री बनाउन चाहेका थिए। तर सुरक्षा निकायका प्रमुखहरूले पाण्डेलाई गृहमन्त्रीका रूपमा स्वीकार गर्न अस्वीकार गरेपछि त्यो योजना अघि बढ्न सकेन। त्यसपछि पनि पाण्डे मेयर शाहको निर्देशनमा महानगरपालिकामा कार्यरत रहँदै आएका थिए।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। पाण्डेलाई गगन थापासँग प्रतिस्पर्धा गराउने र आफू भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने मेयर शाहको चाहना रहेको बताइन्छ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com