काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिनभर चलेको सचिवालय बैठकले अधिकांश क्षेत्रका उम्मेदवार तय गरेको हो।
बैठकपछि उपमहासचिव लेखराज भट्टले उम्मेदवार टुंगिएका क्षेत्रहरूको सूची सार्वजनिक गरेका छन्। उनका अनुसार बाँकी रहेका क्षेत्रहरूमा अध्यक्ष ओलीले आवश्यक छलफलपछि निर्णय लिनेछन्। सार्वजनिक सूचीअनुसार अध्यक्ष ओली यसपटक पनि झापा–५ बाटै चुनाव लड्नेछन्।
पार्टी उपाध्यक्षहरू बिष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण विष्ट गुल्मी–२ बाट उम्मेदवार बन्ने भएका छन्। उपमहासचिव लेखराज भट्ट कैलाली–४ र रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार तय भएका छन्।
तर अर्का उपमहासचिव योगेश भट्टराईको हकमा सचिवालय बैठकले निर्णय गर्न सकेन। उनी विगतदेखि चुनाव लड्दै आएको ताप्लेजुङ क्षेत्र खाली राखिएको छ। स्रोतका अनुसार अध्यक्ष ओली भट्टराईलाई टिकट दिन इच्छुक देखिएका छैनन्। बैठकमा भट्टराईले आफ्नो निर्वाचन क्षेत्र मात्र होइन, समग्र टिकट वितरण प्रणालीप्रति नै ‘नोट अफ डिसेन्ट’ राखेको जानकारी बैठक स्रोतले दिएको छ।
यद्यपि पार्टीभित्र एकताको सन्देश दिन भट्टराईलाई टिकट दिनुपर्ने दबाब पदाधिकारीहरूबाट परेको थियो। भट्टराई एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट उपमहासचिव निर्वाचित भएका थिए। त्यसैले उनलाई टिकट नदिँदा गलत सन्देश जाने तर्क गरिएको थियो। ताप्लेजुङको निर्णय नभएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी निर्णयप्रति विचलित नहुने र एमालेका उम्मेदवार जिताउने अभियानमा लाग्ने बताएका छन्।
बैठक स्रोतका अनुसार फरक समूहबाट उपाध्यक्ष निर्वाचित गोकर्ण विष्ट बाहेक ईश्वर पोखरेल समूहका अधिकांश नेताले टिकट पाएनन्। अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेललाई पनि टिकट दिने निर्णय भएन। काठमाडौँ–५ बाट पोखरेलको नाम जिल्ला कमिटीले एकल सिफारिस गरेको भए पनि बैठकले त्यसमा निर्णय गरेन।
स्रोतका अनुसार सचिव राजन भट्टराई काठमाडौँ–५ बाट चुनाव लड्न इच्छुक छन्। यसअघि काठमाडौँ–४ बाट लगातार पराजित भएका भट्टराईले क्षेत्र परिवर्तनको प्रस्ताव गरेका हुन्। सम्भवतः पछि उनको नाममा निर्णय हुन सक्ने बताइएको छ।
ईश्वर पोखरेल समूहबाट सचिव पदका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का र इन्द्रलाल सापकोटाले पनि टिकट पाएनन्। यीमध्ये गोकुल बास्कोटा (काभ्रे–२) र ठाकुर गैरे (पाल्पा–२) २०७९ को निर्वाचनमा विजयी भएका थिए।
तर रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष पौडेललाई पाल्पा–२ को टिकट दिँदा ठाकुर गैरे पन्छाइएका छन्। यस निर्णयमा केही पदाधिकारीले आपत्ति जनाउँदै ‘उपाध्यक्ष भागेको सन्देश जाने’ र गैरेमाथि अन्याय हुने तर्क गरेका थिए। यस्तै गोकुल बास्कोटाको हकमा पनि असन्तुष्टि देखिए तापनि निर्णय परिवर्तन भएन।
इतर समूहका नेताहरूलाई टिकट नदिने क्रममा मोरङ–१, ४ र ६ बाट सिफारिस भएका विनोद ढकालको विषयमा पनि कुनै निर्णय भएन। पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई चितवन–१ बाट टिकट नदिइनुका साथै उनको नाम सिफारिससमेत गरिएको थिएन।
झापा–४ का एलपी सावा, इलाम–२ का महेश बस्नेत, ओखलढुंगा का अमिरबाबु गुरुङ, सुनसरी–१ का जय राई, बारा–२ का पुरुषोत्तम पौडेल, काठमाडौँ–३ का कृष्ण राई, काठमाडौँ–९ का कृष्णगोपाल श्रेष्ठ, सिन्धुली–१ का गणेश पहाडी, रामेछामका रत्न गौतम र कास्कीका मनबहादुर गुरुङले फरक समूहमा आबद्ध भएकै कारण टिकट नपाएको नेताहरू बताउँछन्।
यस्तै म्याग्दीका बालकृष्ण सुवेदी, कैलाली–२ का झपट रावल, कञ्चनपुर–१ की तारा लामा र बाजुराका कर्ण थापाले टिकट नपाउनुको ठोस कारण नरहेको बताइएको छ। बारा–२ मा त जम्मा चार मत पाएका ज्वाला साहलाई टिकट दिँदै अत्यानन्द पाण्डेलाई पन्छाइएको छ।
टिकट वितरणका लागि स्पष्ट मापदण्ड नबनाइएकाले पार्टीभित्र असन्तुष्टि बढ्ने चिन्ता नेताहरूले व्यक्त गरेका छन्। एक नेताका अनुसार यसले आन्तरिक एकतामा असर पार्न सक्छ। ‘पदाधिकारीहरू नै हारिन्छ भन्ने डरले क्षेत्र परिवर्तनतिर लागेका छन्,’ उनले भने, ‘कतिपय ठाउँमा गुट छल्न जुनियरलाई टिकट दिँदा थप समस्या उत्पन्न हुन सक्छ।’
अध्यक्ष ओलीले इतर समूहका मात्र होइन, आफ्नै पक्षका केही नेताहरूको हकमा पनि निर्णय लिएका छैनन्। महासचिव शंकर पोखरेलको टिकट निश्चित नहुनु त्यसको उदाहरण हो। दाङ–२ बाट चुनाव लड्दै आएका पोखरेल सोही क्षेत्रमै लड्ने वा अन्यत्र जाने भन्ने अन्योलमा रहेकाले टिकटबारे निर्णय हुन नसकेको बैठक स्रोतले जनाएको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया