काठमाडौं। विशेष महाधिवेशनपछि विभाजित बनेको नेपाली कांग्रेसमा दुवै पक्षलाई मिलाएर अगाडि बढ्ने विषयमा आन्तरिक छलफल तीव्र बनेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनधर गगन थापालाई सभापतिको मान्यता दिएपछि असन्तुष्ट देउवा पक्षले आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

निर्वाचन आयोगले भोलि (मंगलबार) उम्मेदवार मनोनयनको कार्यतालिका सार्वजनिक गरेपछि समयको चाप बढेको छ। यस्तो अवस्थामा सभापति थापाले देउवा पक्षलाई पनि समेटेर लैजाने तयारी गरेपछि दुवै पक्षबीच संवाद सुरु भएको हो।

advertisement

आइतबार मध्यरातिसम्म चलेको छलफल सकारात्मक बनेपछि दुवै पक्षलाई स्वीकार्य हुने गरी टिकट वितरण गर्ने विषयमा सहमति खोजिएको छ। यस क्रममा देउवा पक्षले सर्वोच्च अदालतमा दायर रिट फिर्ता गर्न सक्ने संकेत पनि दिएका छन्।

यसै विषयमा आज देउवा निवास महाराजगञ्जमा दुवै पक्षबीच थप छलफल हुने बताइएको छ। उता, कांग्रेस सभापति गगन थापाले उम्मेदवार चयन प्रक्रियालाई समावेशी र सन्तुलित बनाउने प्रयास भइरहेको बताएका छन्।

थापाले भने, जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग र अदालत धाउनुपर्ने अवस्था आयो। केही नेताहरू असन्तुष्ट भएर कानुनी बाटोमा जानु भयो, जसले समयको अत्यधिक चाप सिर्जना गर्‍यो। हामी सबैलाई मिलाएर लैजाने प्रयासमा छौं। टिकट वितरणमा चित्त नबुझे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन सबैलाई आग्रह गर्दछु।

निर्वाचन आयोग र अदालतसम्बन्धी प्रक्रियाका कारण उम्मेदवार छनोटमा ढिलाइ भइरहेको समेत थापाले स्पष्ट पारे।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com